कोरोना भाइरस महामारीको दोस्रो लहरमा धेरै बालबालिकाहरु संक्रमित बनिरहेका छन् । पहिलो लहर भन्दा दोस्रो लहर बालबालिकाका लागि संक्रामक देखिएको अवस्थामा अर्को नयाँ लहर आएमा बालबालिकाहरुका लागि निकै खतरनाक हुने विज्ञहरुले बताइरहेका छन् ।

विद्यालयहरु बन्द भएको अवस्थामा कोरोना भाइरसको नयाँ भेरिएन्ट, बालबालिकाको स्वास्थ्य तथा मानसिक अवस्थाका विषयमा अभिभावकहरुमा चिन्ता थपिइरहेको छ ।

महामारीको समयमा अभिभावकहरुले के गर्ने ? के नगर्ने ? अभिभावकहरु संक्रमित भएको अवस्थामा बालबालिकाको हेरचाह कसरी गर्ने ? अनि बालबालिकाहरु नै संक्रमित भएमा के गर्ने ? डाक्टर शेफाली गुलाटीले इण्डियन एक्सप्रेसमा यस्तै जिज्ञासाहरुको जवाफ दिएकी छन् ।

कोभिड १९ को तेस्रो लहरको चर्चा सुनिएको छ र सो लहरबाट बालबालिकाहरु सबैभन्दा बढी जोखिममा रहेको भनिएको छ । के त्यो त्रास साँचो हो ?

कोरोना भाइरस महामारीको तेस्रो लहरले बढी बालबालिकाहरुलाई असर गर्ने धेरै विज्ञहरुले चेतावनी दिएका छन् । सिंगापुरमा यस्तो भैसकेको पनि छ । हामीले भाइरसविरुद्ध प्रतिरक्षा हासिल गर्ने भनेको कि त खोप लगाएर हो, कि त एकपटक संक्रमित भैसकेपछि हो ।

धेरै वयस्क मानिसहरु पहिलो तथा दोस्रो लहरमा संक्रमित भैसकेका छन् । हालसम्म खोपहरु केवल वयस्कहरुको प्रयोगका लागि मात्र स्विकृत भएका छन् । पहिलो लहरमा संक्रमित भएका बालबालिकाहरुको संख्या भन्दा दोस्रो लरहमा संक्रमितहरुको संख्या धेरै छ । यसको कारण चाहीँ समग्रमा संख्या नै धेरै हुनु र सबै परिवार नै संक्रमित भएका कारण पनि हुनसक्छ ।

के भाइरसका कुनैपनि नयाँ भेरिएन्टहरु वयस्कहरुलाई भन्दा बालबालिकाहरुलाई बढी खतरनाक छन् ?

कोरोना भाइरसका नयाँ म्युटेन्टहरु, खासगरी द्य।ज्ञ।ज्ञटठ भेरिएन्टले बालबालिकाहरुलाई बढी असर गरेको सिंगापुर लगायतका केही देशमा देखिएको छ । यद्यपि उक्त नयाँ भेरिएन्टबाट हालसम्म सिंगापुरमा कति बालबालिकाहरु संक्रमित भए भन्ने आधिकारिक तथ्यांक चाहीँ उपलब्ध छैन । भाइरसको सुरुवाती भेरिएन्ट भन्दा द्य।ज्ञ।ज्ञ।ठ भेरिएन्ट ६० प्रतिशत बढी घातक छ । यो नयाँ भेरिएन्ट यतिधेरै घातक हुँदाहुँदै पनि बालबालिकाहरुको रोग प्रतिरोधी क्षमता उच्च हुने भएका कारणले गर्दा भाइरसको आक्रमण हुँदा समेत गम्भीर विरामी नपरेका हुन् ।

आमरुपमा कोभिड १९ को संक्रमणको मामिलामा के बालबालिकाहरु वयस्कभन्दा कम खतरामा हुन् ? र, बालबालिकाहरु मध्ये कुन समूहका बढी जोखिममा हुन्छन् ?

भाइरस संक्रमणको सम्भावनाका हिसाबले बालबालिकाहरु वयस्कजत्तिकै जोखिममा हुन्छन् । तथापि कोभिड १९ संक्रमित बालबालिकाहरु साधारणतया लक्षण विनाका वा कम गम्भीर खाले लक्षण भएका हुने गरका छन् । बालबालिकाहरुमा भाइरसको असर कम हुनुको कारण चाहीँ भाइरस संक्रमण हुने तरिकाका साथै बालबालिकाको रोग प्रतिरोधी प्रणालीका कारणले हुनसक्छ ।

अध्ययन अनुसार खासगरी १ वर्षमुनिका र १० देखि १४ वर्षसम्मका बालबालिकाहरु कडा लक्षण सहितको कोभिड १९ संक्रमण हुने उच्च जोखिम समूहमा पर्दछन् । शिशुहरु संक्रमित भएमा गम्भीर विरामी पनि पर्न सक्दछन् । त्यस्तै १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुमा २ देखि ६ हस्तासम्मको लक्षणवीहिन वा लक्षणयुक्त कोभिड संक्रमणपछि मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम देखिन सक्छ ।

खासगरी १ वर्षमुनिका र १० देखि १४ वर्षसम्मका बालबालिकाहरु कडा लक्षण सहितको कोभिड १९ संक्रमण हुने उच्च जोखिम समूहमा पर्दछन् ।
के बालबालिकामा देखिने लक्षणहरु वयस्क व्यक्तिहरुमा देखिने लक्षण भन्दा फरक हुन्छन् ?

सबैभन्दा आम लक्षणहरु भनेका ज्वरो (६३ प्रतिशत), खोकी (३४ प्रतिशत) र त्योसँगै वाकवाकी तथा वान्ता (२० प्रतिशत) र झाडापखाला (२० प्रतिशत) रहेका छन् । वयस्क मानिसहरुमा जस्तै बालबालिकाहरुमा पनि कोभिडका मुख्य लक्षणमा ज्वरो र खोकी नै पर्दछ । तर बालबालिकामा त्यस्तो लक्षण देखिने दर वयस्कमा भन्दा निकै कम हुन्छ ।

अधिकांस बालबालिकामा न्यून तथा मध्यम खालको लक्षण देखिन्छ र केवल ४ प्रतिशतमा मात्रै कडा खालको विमारी हुन्छ । त्यस्तै वयस्कहरुमा छिटो छिटो स्वास फर्ने, अक्सिजन लेवल घट्ने तथा थुक उत्पादन जस्ता लक्षणहरु देखिन्छन् । वयस्कमा जस्तै झाडापखाला तथा वान्ता हुने जस्ता लक्षणहरु बालबालिकामा पनि देखा पर्दछन् । र कहिलेकाहीँ त कोभिड १९ संक्रमणको एकमात्र लक्षणको रुपमा झाडावान्ता लाग्ने गरेको पनि पाइन्छ । समग्रमा सुरुमा स्वासप्रस्वासजन्य र बढी पाचन प्रणालीजन्य लक्षणहरु बालबालिका र वयस्क दुबैमा कोभिडका लक्षणको रुपमा रहने गरेका छन् ।

आफ्नो बच्चालाई कोभिड १९ संक्रमणको लक्षण देखिएमा के गर्ने ?

कोभिड १९ संक्रमणको आशंका भएका वा पुष्टि भएका र ज्वरो, खोकी तथा फ्यारिन्जाइटिस जस्ता सामान्य खालका लक्षण देखिएका बालबालिकालाई सामान्यतया घरमै व्यवस्थापन गर्नु उपयुक्त हुन्छ । दम, मुटुको रोग, मधुमेह, छारे रोग तथा मांशपेशीजन्य लगायतका रोग भएका संक्रमित बालबालिकालाई चाहीँ तत्कालै अस्पताल लैजानु पर्दछ । किनकी पहिले देखिनै अर्को रोगबाट ग्रसित भैरहेका बालबालिकाहरुमा कोभिड १९ को संक्रमणले सिकिस्त बिरामी पार्ने जोखिम हुन्छ ।

संक्रमितको घरमै गरिने व्यवस्थापन अन्तरगत संक्रमित वा आशंकितलाई आइसोलेसनमा राखेर अरुलाई रोग सर्न नदिने, उसको निरन्तर निगरानी गरिरहने र लक्षणहरुको बारेमा जानकारी लिइरहने, आडभरोसा दिने र पोषणयुक्त खानेकुरा र डाक्टरहरुको सल्लाह बमोजिम औषधि आवश्यक परेमा खुवाउने ।

घरमै हेरचाह तथा आइसोलेसनमा रहेका संक्रमित बालबालिकाहरुमा यस्ता कडा लक्षण देखिएमा सचेत हुनु पर्दछः

सास फेर्न गाह्रो हुनु, घ्यारघ्यार हुनु र दुध चुस्न नसक्नु
किशोरावस्थाका बालबालिकामा छाति दुख्नु र दबाब महसुस हुनु
अनुहार तथा ओठ निलो बन्दै जानु
पिसाब कम लाग्नु, सरीर चिसो बन्नु तथा छालामा धब्बाहरु बन्नु
बालबालिकामा द्धिविधा तथा अलमल बढ्नु, लोसे बन्दै जानु
आइसोलेसनको अवधि : लक्षण देखिएका विरामीका लागि लक्षण देखिएको दिनबाट १० दिनसम्म र लक्षण देखिन छाडेको थप ३ दिनसम्म ।
लक्षण नदेखिएका विरामीका लागि कोरोना परीक्षणबाट संक्रमण देखिएको दिनदेखि १० दिनसम्म ।
अधिकांश बालबालिकामा न्यून तथा मध्यम खालको लक्षण देखिन्छ र केवल ४ प्रतिशतमा मात्रै कडा खालको विमारी हुन्छ ।
यदि अभिभावकहरुले पूर्ण खोप लगाइसकेका छन् भने त्यस्ता अभिभावकका बच्चालाई घरमा आइसोलेसनमा राख्नु पर्दछ ? यदि अभिभावकले खोप लगाएका छैनन् भने के गर्ने ?

यदि बच्चामा कोरोना भाइरस पोजिटिभ छ र अभिभावकमा नेगेटिभ देखिएको छ भने अभिभावकले बच्चाको हेरचाह गर्न सक्दछन् । तथापि बच्चाको हेरचाह गरिरहँदा अभिभावकहरुले निम्न कुरामा ध्यान दिनुपर्दछः

ठिक तरिकाले, सही किसिमको मास्क लगाउने
ग्लोभ्स तथा पिपिइ लगाउने
संक्रमित बच्चालाई घरमा रहेका वृद्ध हजुरबा हजुरआमा लगायतसँग हेलमेल हुन नदिने
बाबु आमा दुबैजनाले कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेका भएपनि महामारी पूर्वको अवस्थामा जस्तो ढुक्क हुन हतार गर्नु हुँदैन ।
के गर्भवती महिला कोभिड १९ संक्रमित हुँदा आफ्नो गर्भको बच्चामा रोग सर्दछ ?

गर्भावस्थाका बेला संक्रमित आमाबाट गर्भमा रहेको बच्चामा कोभिड भाइरस सर्ने नसर्ने तथा संक्रमित आमाका कारण गर्भको बच्चामा पर्ने असरका बारेमा निधो गर्ने पर्याप्त प्रमाणहरु हालसम्म उपलब्ध छैनन् । हाल यस विषयमा अनुसन्धानहरु भैरहेका छन् । तथापि गर्भवती महिलाले उपयुक्त सावधानी अपनाउनै पर्दछ । ज्वरो, खोकी, स्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा अस्पतालमा गईहाल्नु पर्दछ ।

आफूबाट टाढा राख्ने नमिल्ने खालको निकै सानो उमेरका शिशु भएमा तथा त्यसबाट भाइरस संक्रमण भएमा के गर्ने ?

यदि तपाइँ कोभिड १९ संक्रमित हुनुहुन्छ भने आफ्ना बच्चालाई छुनु वा अँगालो हाल्नु भनेको उनीहरुलाई जोखिममा पार्नु नै हो । हुनत सानो उमेरका बच्चाहरुलाई आफुभन्दा टाढा बस्ने बानी पार्नु निकै कठीन हुन्छ । यदि तपाइँ बच्चासँग एकै ठाउँमा बस्नुहुन्छ भनेपनि ऊसँग प्रत्यक्ष सम्पर्कमा नआउन तर सम्पर्क कायमै राख्नका लागि नयाँ उपायहरु अपनाउन सक्नुहुन्छ । त्यसका लागि बच्चासँग फोनमा कुरा गर्ने, भिडियो कल गर्ने तथा इमेल आदान प्रदान गर्ने गर्न सक्नुहुन्छ । आफ्ना बच्चासँग नियमित रुपमा फोनमा कुराकानी गर्नका लागि परिवारका सदस्यहरु वा साथीलाई पनि भन्नुहोस् ।

अमेरिकाको सेन्टल फर डिजिज कन्ट्रोलका अनुसार २ वर्ष भन्दा माथिल्लो उमेरको जो सुकै बच्चाले पनि लगाएको मास्क आफै फ्याँक्न सक्दछ । त्यसैले स्वासप्रस्वासको समस्या नभएका सबैजनाले यदि घरमा कुनै संक्रमित व्यक्ति छ भने अनिवार्य रुपमा मास्क लगाउनु पर्दछ । घरका सतहरुमा नियमित रुपमा डिसइन्फेक्सन गर्नु पर्दछ । आफु र आफ्नो बच्चाबीच कम्तिमा ६ फिटको दूरी कायम गर्नु पर्दछ ।

कोभिड १९ संक्रमित आमाले बच्चालाई दूध चुसाउनु सुरक्षित हुन्छ ?

स्तनपानबाट कोभिड १९ भाइरस सर्ने सम्बन्धमा हालसम्म पर्याप्त प्रमाण उपलब्ध छैन । शिशुहरुमा संक्रमणको जोखिम कम हुन्छ र संक्रमण पनि मध्यम खालको वा लक्षण विनाको हुन्छ भने शिशुलाई आमाबाट छुटाउनु तथा दूध नचुसाउनुको असर ठूलो हुन सक्दछ । यसकारण कोभिड १९ बाट बालबालिका र शिशुहरुको ज्यान तथा स्वास्थ्यमा हुने खतराको तुलनामा विभिन्न खाले संक्रमणको सुरक्षामा स्तनपानले खेल्ने भूमिका उल्लेख्य हुन्छ । प्राप्त प्रमाणहरुका आधारमा विश्व स्वास्थ्य संगठनले कोभिड १९ संक्रमित आमाले आफ्ना शिशुहरुलाई सुरक्षित रुपमा स्तनपान गराउन सक्ने ठहर गरेको छ ।

विद्यालय बन्द भएको अहिलेको अवस्थामा आफ्ना बालबालिकाको मानसिक स्वास्थ्यको लागि अभिभावकहरुले के गर्ने ? के नगर्ने ?

महामारीको यो समयमा क्वारेन्टाइनमा रहने बालबालिकाहरुमा आमरुपमा ७९.४ प्रतिशत बालबालिकाहरुमा एन्जाइटी, डिप्रेसन, झिँजो मान्ने, मूड परिवर्तन भैरहने, ध्यान केन्द्रित गर्न नसक्ने, निद्रा खल्बलिने जस्ता मानसिक समस्याहरु देखिने गरेको एक अध्ययनले देखाएको छ । अटिजम, एटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर भएका बालबालिकाहरुमा उनीहरुको बानी व्यहोरागत लक्षणहरु झनै बिग्रिने सम्भावना बढी हुन्छ ।

अभिभावक र सानो उमेरका बालबालिकाहरु

·अभिभावकहरुले आफ्ना स साना बच्चाहरुका लागि समय छुट्टाउनु पर्दछ र त्यस्तो समयमा अन्य कुरामा नअल्झिने, सकारात्मक कुराकानी गर्ने र बालबालिकाहरुलाई ढाडस दिने गर्नुपर्दछ ।
बालबालिकाहरुलाई कोभिड १९ का बारेमा तथ्यपरक जानकारीहरु मात्र दिने, अफवाहका कुरा नगर्ने ।
समाचारहरुमा बालबालिकाहरुको पहुँचलाई समेत सिमित गर्नुपर्दछ र केवल तथ्यपरक सामाग्रीमा मात्र जोड दिनु पर्दछ ।
दिनचर्याको नियमित तालिका तय गर्नुपर्दछ ता कि बच्चाले खेल्न, पढ्न, आराम गर्न तथा शारीरिक गतिविधिका लागि पर्याप्त अवसर पाओस् ।
विश्व स्वास्थ्य संगठनले कोभिड १९ संक्रमित आमाले आफ्ना शिशुहरुलाई सुरक्षित रुपमा स्तनपान गराउन सक्ने ठहर गरेको छ ।
अभिभावक र किशोरकिशोरीहरु

·आफ्ना किशोरावस्थाका सन्तानलाई विभिन्न खाले जिवनोपयोगी सिप प्रदान गर्ने यो उपयुक्त मौका हो । तनावसँग कसरी जुध्ने, संवेगसँग कसरी जुध्ने, समस्या समाधान कसरी गर्ने ? जस्ता सीपहरु आफ्ना बालबालिकालाई प्रदान गर्ने ।
साना बालबालिकाको तुलनामा किशोर किशोरीहरुमा कोभिड १९ को बारेमा राम्रो ज्ञान हुन्छ । त्यसैले उनीहरुसँग खुल्ला रुपमा कुराकानी गर्नुपर्दछ ।
बालबालिकालाई उत्तरदायित्व, सहभागिता, सहकार्य जस्ता कुराहरु सिकाउने । साथै पाक कला, पैसाको व्यवस्थापन, प्राथमिक उपचार, आफ्नो कोठा मिलाउने तथा घरायासी काममा सहयोग गर्ने जस्ता कामहरु पनि सिकाउन सकिन्छ यो बेलामा ।
कोभिड १९ को बारेमा इन्टरनेटमा अत्यधिक सामाग्रीहरु हेर्नबाट आफ्नो किशोरावस्थाको सन्तानलाई रोक्नुहोस् किनकी यसले एन्जाइटी बढाउँदछ । साथै सोसल मिडिया तथा इन्टरनेट गेमिंगको अत्यधिक प्रयोगबाट पनि आफ्नो बच्चालाई टाढा राख्नुपर्दछ ।
आफ्नो बच्चाको मानसिक सुस्वास्थ्य प्रवद्र्धनका लागि आर्ट, संगीत, नृत्यु लगायतका कलामा समेत संलग्न गराउन सकिन्छ ।
अभिभावकहरुले आफ्नै मानसिक स्वास्थ्यको समेत ख्याल गर्नु पर्दछ ।
के कोभिड १९ ले बालबालिकामा विकासात्मक सुस्तता ल्याउँदछ ?

विभिन्न ३१ देशका ९ हजार ३३५ जना संक्रमित बालबालिकामा गरिएको एक अध्ययनले १२ प्रतिशत बालबालिकामा स्नायुजन्य समस्याका लक्षणहरु देखा परेको पाइएको छ । त्यसमध्ये २ प्रतिशत बालबालिकामा चाहीँ इन्सेफ्यालोप्याथी, स्ट्रोक, मध्य स्नायु प्रणालीमा संक्रमण जस्ता घातक लक्षणहरु पनि देखिएका छन् ।

अझ विशेष अवस्था वा आवश्यकताका बालबालिकामा कोभिड संक्रमणको जोखिम उच्च रहेको छ भने स्वास्थ्य सेवामाथिको पहुँचमा कमी, स्कूल बन्द हुँदा पुनस्र्थापनाको उच्च आवश्यकता, रोकथामजन्य उपायहरु अबलम्बनको क्षमतामा कमी जस्ता समस्या देखिने गरेका छन् । स्नायु प्रणालीको विकास सँग सम्बन्धित लामो समदेखिको समस्या भएका बालबालिकाहरु कोभिड १९ को कारण मानसिक विकासात्मक सुस्तताको बढी जोखिममा रहेका छन् ।

दुई वर्ष भन्दा मुनिको बच्चालाई कहिल्यैपनि मास्क लगाइदिनु हुँदैन । तथापि बच्चालाई अनावश्यक सार्वजनिक सम्पर्कमा नल्याउनुहोस् ।
कोभिड १९ बाट संक्रमित वा भर्खरै निको भएका बालबालिकाहरुलाई अन्य नियमित खोप लगाउन के गर्ने ?

बच्चा कोभिड संक्रमणबाट मुक्त भएको वा लक्षणवीहिन भएको २ हप्तापछि मात्र अन्य नियमित खोपहरु बच्चालाई लगाउन सकिन्छ । यदि बच्चालाई उच्च डोजको स्टेरोइड औषधि लगायतका रोग प्रतिरोधी क्षमता घटाउने खालको उपचार गरिएको भएमा यस्तो उपचार सकिएको ३ महिनापछि मात्र नियमित खोप लगाउनु पर्ने हुन्छ ।

मास्क लगाउन नसक्ने शिशु तथा साना बालबालिकाहरुलाई संक्रमणबाट जोगाउनका लागि के गर्ने ?

भारतीय बालचिकित्सा प्रतिष्ठानले २ वर्ष माथिका सबै बालबालिकाले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने सुझाव दिएको छ । मास्कको साटो फेस सिल्ड लगाउने भएमा पुरै अनुहार छोप्ने गरी लगाउनु पर्दछ । फेस सिल्डले अनुहारको दुबैपट्टि ढाकेको हुनुपर्दछ भने चिउँडो भन्दा तलसम्म आएको हुनुपर्दछ । फेस सिल्ड लगाउँदा त्यो फुटेर अनुहार तथा आँखा लगायतमा हुनसक्ने घाउचोटका विषयमा सचेत हुनु पर्दछ ।

आफु, आफ्नो सानो शिशु तथा अन्य सन्तानहरुलाई अरु मानिसहरुभन्दा ६ फिट टाढै राख्नुहोस् । बालबालिकालाई घरमै राखेर आफु बाहिर निस्किनुपर्ने भएमा सकेसम्म छिटै घर फर्किनुहोस् ।
आफ्नो सानो बच्चालाई लिएर सार्वजनिक ठाउँहरुमा जानुपर्ने भएमा बच्चा बोक्ने स्ट्रोलरलाई पातलो ब्लांकेटले छोप्ने गर्नुहोस्, तर बच्चालाई छोप्ने होइन ।
आफ्नो बच्चालाई एक्लै नछाड्नुहोस्
आफ्नो हात सधे सफा राख्ने । घर आउने बित्तिकै आफु तथा आफ्ना अन्य बच्चाको हात धुन नबिर्सिने । हात धोएर मात्रै शिशुलाई छुने।
घरमा प्रायः छोइरहने सतहहरु दिनमा नियमित रुपमा डिसइनफेक्टेन्ट स्प्रे तथा वाइपरले सफा गरिरहने ।
कुरा बुझ्ने उमेरका बालबालिकालाई हातले अनुहार छुने बानीलाई छाड्न लगाउने ।
(अखिल भारतीय आयुर्विज्ञान संस्थानस्थित बालचिकित्सा विभागमा दुई दशकको अनुभव बटुलेकी डाक्टर शेफाली गुलाटी बाल स्नायु विज्ञान तथा न्युरोडेभलपमेन्टल डिसअर्डर विषयकी विज्ञ हुन्)

–इण्डियन एक्सप्रेसबाट अनुवादित ।