अमेरिकाले चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्म शुल्क लगाउने र चीनको लगानी सीमित गर्ने निर्णय गरेको छ । वर्षौँदेखि चीनले बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै त्यसको बदलास्वरूप अमेरिकाले पछिल्लो निर्णय लिएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमले अमेरिका र चीनबीच व्यापारिक युद्धको खतरा बढेको छ ।

अनुचित प्रतिस्पर्धाविरुद्ध अमेरिकी कदम
चिनियाँ अर्थव्यवस्थाबाट सिर्जित अनुचित प्रतिस्पर्धालाई चुनौती दिन बेइजिङविरुद्ध पछिल्लो कदम
चाल्नुपरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० अर्ब डलर शुल्क तिर्नुपर्ने चिनियाँ सामग्रीको  सूची प्रकाशित गर्न अमेरिकाको व्यापारसम्बन्धी कार्यालयलाई दुई साताको  समयसीमा तोकेका छन् । अमेरिकाले चीनमाथि भारी शुल्क लगाउनुका अतिरिक्त नयाँ लगानीमा रोक, विश्व व्यपार संगठनमा चीनविरुद्ध सिकायत गर्ने भएको छ । त्यस्तै चीनको कथित अन्यायपूर्ण इजाजत सर्तबारे अमेरिकाले उजुरी हाल्ने तयारी गरेको छ ।

‘चीनले बौद्धिक सम्पत्ति चोर्‍यो’
चीनमाथि लगाइने प्रतिबन्धसम्बन्धी टिपोटमा हस्ताक्षर गर्दै ट्रम्पले यसबारे वासिङगट र बेइजिङबीच वार्ता भइरहेकोे बताए । चीनबाट आयात हुने सामग्रीमा ६० अर्ब डलर शुल्क लाग्ने राष्ट्रपति ट्रम्पले संकेत गरे । तर, ट्रम्प प्रशासनका अधिकारीहरूले चिनियाँ सामग्रीमा ५० अर्ब डलर शुल्क लाग्ने बताए । चीनले अमेरिकाको ठूलो बौद्धिक सम्पत्ति चोरेको पनि ट्रम्पले आरोप लगाए । ‘चीनले अमेरिकाको ठूलो मात्रामा बौद्धिक सम्पत्तिको चोरी भएको प्रमाण भेटेका छौँ,’ ट्रम्पले भने । पछिल्लो कदमले अमेरिकालाई अझै शक्तिशाली र सम्पन्न मुलुक बनाउने उनले दाबी गरे ।

‘चीनमाथिको नयाँ प्रतिबन्धले हामीलाई थप शक्तिशाली र धनी राष्ट्र बनाएको छ,’ ट्रम्पले भने । ट्रम्पले यो कदमबाट अन्य देशले पनि अमेरिकी कम्पनीलाई समान नियमले हेर्ने विश्वास लिएका छन् । यसअघि ट्रम्प प्रशासनले स्टिल र आल्मुनियमलगायत कैयौँ वस्तुमाथि चर्को आयात शुल्क बढाइदिएको थियो । चीनले अमेरिकाको बौद्धिक सम्पत्ति चोरेको भन्दै त्यसबारे अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पले गत अगस्टमा निर्देशन दिएका थिए ।

अमेरिकाको व्यापारसम्बन्धी कानुनअनुसार निष्पक्ष व्यापार नगर्ने देशहरूमाथि अमेरिकाले एकतर्फी रूपमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ । चीनसँगको व्यापारमा अमेरिकाले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानमा चीनसँगको व्यापारघाटा अन्त्य गर्ने प्रतिबद्धता गरेका थिए ।

वार्ताले सकारात्मक परिणाम ल्याएन
ट्रम्पका वरिष्ठ व्यापार सल्लाहकार पिटर नाभारले चीनसँग १५ वर्ष लामो व्यापारसम्बन्धी वार्ताले सकारात्मक परिणाम नल्याएपछि बेइजिङमाथि शुल्क लगाइएको बताए । वार्तापछि पनि चीनमा कुनै परिवर्तन नआएको उनले बताए । ‘चीनबाट भएका बौद्धिक चोरीका प्रयास हटाउनेबारे अमेरिकी प्रशासनले धेरै प्रयास गर्‍यो । तर, ती वार्ता अमेरिकी नागरिकका लागि निकै महँगो सावित भयो,’ उनले भने । शुल्कको तत्काल असर देखिनेछैन । अमेरिकी व्यापार प्रतिनिधिले १५ दिनभित्र सामानको सूची सार्वजनिक गर्नेछ ।

त्यसपछि सोबारेमा सार्वजनिक टिप्पणीका लागि ३० दिन छुट्याइनेछ । यसैबीच, अमेरिकाको आर्थिक भविष्यका लागि अमेरिकी प्रविधिलाई बचाइराख्नु महत्वपूर्ण विषय भएको अमेरिकाका व्यापार वार्ताकार रोबर्ट लाइटाइजरले बताए । केही राजनीतिज्ञ, औद्योगिक संस्थाहरू र थोक विक्रेताहरूले अमेरिकाले नाकाबन्दी लगाउँदा चीनले बदला लिन सक्ने सावधानी दर्शाएका छन् । भारी शुल्क लगाइँदा चीनले बदला लिन सक्ने रिपब्लिकन सांसद इरिक पउलसेनले बताएका छन् । चीनमाथिको प्रतिबन्ध आत्मघाती हुन सक्ने भन्दै उनले अगाडि थपे, ‘चीनले बदला लिएमा अमेरिकी कृषि क्षेत्र जोखिममा पर्छ ।’

प्रतिकार गर्छौँ : चीन
चीनले अमेरिकाले लगाएको शुल्कको प्रतिकार गर्न आफू तयार रहेको जनाएको छ । केही दिनमै आवश्यक कदम चाल्ने पनि बेइजिङले बताएको छ । आफ्नो भलाइका लागि अमेरिकासँगको कुनै पनि व्यापार युद्धमा अन्त्यसम्म लड्ने दृढता उसले जनाएको छ । द्विपक्षी व्यापारिक सम्बन्ध खतरामा नराख्न बेइजिङले अमेरिकालाई आग्रह गरेको छ । ‘कुनै पनि चुनौतीको सामना गर्न हामी तयार छौँ । प्रतिबन्ध तत्काल हटाउन आग्रह गर्छौँ,’ चिनियाँ वाणिज्य मन्त्रालयले भनेको छ । अमेरिका निर्यात हुने पोर्क, स्टिलका पाइपलगायत तीन अर्ब मूल्यका सामग्रीमा शुल्क लगाउने चीनले तयारी गरेको छ । ट्रम्पले घोषणा गर्नुअघि चीनका प्रधानमन्त्री ली खस्याङले दुवै पक्ष शान्त हुनेमा आफू आशावादी रहेको बताएका थिए । चीन निर्यात हुने उच्च प्रविधिका सामग्रीमाथि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध हट्ने विश्वाससमेत गरेका थिए ।